
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
डेकेन्द्र हत्याको १७ वर्षपछि दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय बम बहादुर खड्कालाई सो सजाय भएको हो । उनी लगायत ९ जना विरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई २ वर्ष अघि कैलाली प्रहरीले पक्राउ गरी दैलेख पठाएको थियो ।
प्रहरीले उनलाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तवीमा रहेको मुद्दा जगाउदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो ।
फैसलामा फरार रहेका कसूरदार साविकको कट्टी गाविस–७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लू नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद भएको छ ।
मुल्तवीबाट जगाइएको कर्तव्यज्यान सम्वन्धी यो मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । उनी पनि फरार छन् । अदालतका श्रेस्तेदार कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तवी लगत कट्टा भएको बताए ।
आइतवार भएको बहसमा कसूरदारलाई सजायको मागदावी गर्दैै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेलले बहस गरेका थिए । प्रतिवादीहरुको बचाउ गर्न वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए ।
सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमूलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए ।
दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जान लागेको बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए ।
अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो । त्यति बेला माओवादीको कडा आलोचना भएकोले माओवादीले थापालाई गाडिएको ठाउँ समेत गोप्य राखेका थिए ।
शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगले २०६५ साउन १३ गते नौमूले गाउँपालिका–३ द्वारीमा गाडिएको थापाको शव उत्खनन् गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो ।
घटनाको ४ वर्षपछि थापाको कंकालको बैज्ञानिक परीक्षणपछि २०६५ साउन १८ गते हिन्दू परम्परा अनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो ।
दाहसंस्कारपछि पत्रकार थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन ।
सशस्त्र युद्धकालिन समयको घटना भएकोेले बिस्तृत शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै माओवादी पक्षले दिएको दवावका कारण मुद्दा चल्न सकेको थिएन ।
पत्रकारहरुको नियन्तर दवावपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका ९ जना मध्ये ५ जनालाई निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
पक्राउ परेकाहरुका सन्दर्भमा २०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरुले कैद भुक्तान गरी सकेका छन् ।
उक्त फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठको आरोपित साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत ४ जना पक्राउ परेको बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो ।
अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते साविकको द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाको कारण ज्यान गएका पत्रकार थापा त्यसबेला थापा ३३ वर्षका थिए । त्यसबेला उनी रेडियो नेपालको दैलख सम्वाददाता थिए । उनका श्रीमती, दुई छोरी र छोरा छन् ।









